काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुख्खाग्रस्त क्षेत्र मधेसका विभिन्न जिल्लामा तत्कालै ५ सय बोरिङ्ग खन्ने घोषणा गरेपछि विद्युतको आपूर्तिका अवस्था बुझ्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जनकपुरधाममा वितरण केन्द्रका प्रमुखहरुसँग छलफल गरेका छन् ।
चितवनको विद्युत आपूर्तिको अवस्था बुझेर जनकपुरधाम पुगेका निर्देशक शाक्यले मधेशका विभिन्न जिल्लाका प्राधिकरण कार्यालयका प्रमुखसँग छलफल गरेका छन् ।
शाक्य हाल सुख्खाग्रस्त मधेसमा बोरिङ गाड्ने घोषणापछि विद्युतको आपूर्ति कसरी गर्न सकिन्छ ? भनेर आफैँ फिल्डमा खटिएका छन् । मधेस प्रदेशका सिराहा, धनुषा, महोत्तरी, सप्तरी, सर्लाही लगायतका जिल्लाका प्राधिकरणको जिल्ला नेतृत्वसँग बोरिङ खन्ने ठाउँमा विद्युत आपूर्तिका लागि प्राधिकरणले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिएको निर्देशक शाक्यले बताएका छन् ।
सिँचाइका लागि विद्युत आपूर्ति गर्न प्राधिकरण तयार रहेको भए पनि कहाँ-कहाँ जोडिने भन्नेकुरा सम्बन्धित निकायबाट आउन नसकेको बताएका छन् । सिँचाइ गर्न अब डेढ महिना बाँकी रहेको र अहिले नै कति आउँछ ? कहाँ-कहाँ आउँछ ? र कति क्षमताको पम्पहरु छ ? भन्ने कुराको जानकारी दिन आग्रह गरेका छन् ।
शाक्यले किसानको समस्या राष्ट्रिय समस्या भएकाले समाधानका लागि नै आफू लागिपरेको बताए । उनले आठ रुपैयाँ पर्ने बिजुली सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँमा दिने बताएका छन् । त्यस्तै, सिँचाइका लागि कहाँ-कहाँ र कसरी बोरिङ जडान गर्ने ? भन्ने विषयमा आफैँ फिल्डमा खटेर किसानसँग बुझ्नका लागि निर्देशन दिएको निर्देशक शाक्यले बताएका छन् । उनले अबको एक महिनाभित्रै बोरिङ जडानको काम सकाउने गरी लागि परेको बताएका छन् ।