काठमाडौँ । मंगलबार बिहान (असार २३ गते) रसुवामा एक्कासि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका-२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ ।
नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता छन् ।
बेपत्ता हुनेमा दुई जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । त्यस्तै, बाढीमा परेका ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल बगाएको छ । २४ वटा कन्टेनर, ६ वटा ट्रक र ३५ वटा इभी गाडी समेत बगाएको छ । स्याफ्रुबेसीदेखि टिमुरे जाने सडकसमेत पूर्ण रुपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति भएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः
(तस्विरः प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी)