काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकहरुलाई लाभांश वितरण गर्न आग्रह गरेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुसँगको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो आग्रह गरेका हुन् ।
उनले अर्थतन्त्र गतिशील बनाउने समय आएको भन्दै बजार चलायमान बनाउन बैंकहरुले लाभांश बाँड्नुपर्ने पनि बताएका छन् ।
गभर्नर डा. पौडेलले बैंकहरुलाई छिटो वार्षिक साधारण सभा आयोजना गरेर लाभांश बाँड्न आग्रह गरेका छन् । त्यस्तै, उनले बोनस सेयरको साटो नगद लाभांश बाँड्न पनि बैंकहरुलाई आग्रह गरेका छन् ।
त्यस्तै, गभर्नर डा. पौडेलले नगद लाभांश दिँदा लगानीकर्ताको हातमा सिधा पैसा पर्ने र सोही पैसा नयाँ क्षेत्रमा लगानी हुँदा वा बजारमा चलायमान हुँदा अर्थतन्त्रमा टेवा पुग्ने बताएका थिए । यसो त लामो समयदेखि बैंकहरुले दिने लाभांश पनि कम र त्यसमाथि पनि लाभांश पनि बोनस सेयरको रुपमा दिँदा बैंकको पूँजी मात्र बढ्ने र लगानीकर्ताको हात खाली रहने स्थिति बनेको पनि गभर्नरको भनाई थियो ।
अर्कोतर्फ बैंकको संस्थापकलाई सेयर कारोबार गर्न भइरहेको कठिनाइले पनि अप्ठ्यारो बनाइरहेको गभर्नर पौडेलको भनाई छ । छलफलका क्रममा समेत उनले संस्थापक सेयरको कारोबारलाई समेत खुकुलो बनाउनुपर्ने धारणा राखेका थिए ।