काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । उद्योग मन्त्रालयमा आयोजित खानी तथा भूगर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा उनले नेपालमा अन्तरराष्ट्रियस्तरको गुणस्तर प्रमाणीकरणसम्बन्धी प्रयोगशाला स्थापनाको आवश्यकता औँल्याएका छन् ।
‘खानी तथा भूगर्भ विभाग र गुणस्तर तथा नापतौल विभागले परिणाममुखी काम गर्नुपर्छ ।’, उनले भने, ‘अब नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नु अत्यावश्यक भइसकेको छ ।’
त्यस्तै, उनले योजनाहरू शीघ्र कार्यान्वयन गरी छरितो र प्रभावकारी परिणाम देखिनुपर्नेमा जोड दिँदै राष्ट्रको समृद्धिमा योगदान पु¥याउने खालका कामहरू प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । छलफलका क्रममा खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा रोक्का क्षेत्र खोल्ने, खानी अन्वेषण पुनः सुरु गर्ने, कानुनी अड्चन समाधान गर्ने र अन्तरराष्ट्रिय सम्मेलनको तयारीस्वरूप विज्ञ तथा सरोकार भएकासँग शीघ्र अन्तरक्रिया गर्ने योजना प्रस्तुत गरेको थियो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल–भारत व्यापार सहजीकरणका लागि उठाउनुपर्ने विषयहरूबारे जानकारी गराएको छ । भारतले भारतीय मानक ब्यूरो (बिआइएस) प्रमाणीकरण नपाएका नेपाली वस्तुहरूको निर्यातमा अवरोध गरेको विषय प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा प्रमुख रूपमा उठ्ने विभागले जनाएको छ ।
नेपाली उत्पादकहरूले बिआइएस प्रमाणीकरणका लागि आवेदन दिए पनि प्रक्रिया ढिलो हुँदा निर्यातमा समस्या आइरहेको विभागले जनाएको छ । नेपाल–भारतबीच यससम्बन्धी सम्झौता भए पनि कार्यान्वयनमा कमी देखिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराइएको छ । दुवै विभागले चालु आर्थिक वर्ष २०८२÷८३ का नीति, कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी थप विवरण अर्थमन्त्रालयसँग बिहीबार हुने छलफलमा प्रस्तुत गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।