काठमाडौँ । नेपाल राष्ट्र बैंकका तत्कालीन कायम मुकायम (कामु) निर्देशक भुवन बस्नेतले कर्णाली डेभलपमेन्ट बैंकभित्रको अनियमितता लुकाउने भन्दै बैंकबाट घुसबापत आईफोन समेत लिएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानबाट यस्तो तथ्य खुलेको हो ।
उनले बैंकको अनियमितता लुकाइदिने भन्दै आईफोन-७ लिएको खुलेको हो ।
बस्नेतलाई करिब ९० हजार रुपैयाँ बराबरको आईफोन-९ किनिदिएको सोही प्रकरणका अर्का प्रतिवादी बेद प्रकाश ठकुरीले बताएका छन् । त्यस्तै, बस्नेतलाई आईफोन-७ दिएको अर्का प्रतिवादी राजेन्द्रवीर रायले सनाखत समेत गरेका छन् ।
त्यस्तै, बस्नेतले गाडी किन्नका लागि पनि पैसा मागेको खुलेको छ । कर्णाली डेभलपमेन्ट बैंकमा सुपरीवेक्षणका लागि गएका बेला अनियमितता लुकाउन भन्दै उनलाई ९ लाख ९९ हजार २ सय ५० रुपैयाँ नगद दिइएको पनि सीआईबी अनुसन्धानबाट खुलेको छ । यसरी उनले कुल १० लाख ८४ हजार २ सय ५० रुपैयाँ घुस लिएको देखिएको छ ।
यसरी बस्नेतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १४ बमोजिमको कसुर गरेको देखिएकोले उनीविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । हाल उनी प्रहरी हिरासतमा छन् ।