काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै शर्माले यस्तो बताउका हुन् । उनले उर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीहरुको सपना पूरा नहुने समेत बताएका छन् ।
खोलाको लाइसेन्स लगानी गर्न सक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब पनि आफूले खोज्ने उनले बताएका छन् ।
एउटा व्यक्तिलाई योजनाहरुको लाइसेन्स थुपारिदिँदा अन्य उर्जा उत्पादन गर्न खोज्नेहरुले योजना नपाइरहेको शर्माको भनाई छ । उनले आज दर्जनौँ परियोजनाहरु एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरुले लगानी नगरिरहेको परिस्थिति रहेको बताएका छन् । यो अवस्थाको अन्त्य गर्न छुट्टै नीति ल्याउनुपर्नेमा शर्माले जोड दिएका छन् ।
त्यस्तै, पूर्व अर्थमन्त्री समेत रहेका शर्माले विद्युत खरिद गरेर देश समृद्ध बन्ने नभइ विद्युतको खपतबाट मात्रै देश समृद्ध बन्ने बताएका छन् । जलाशययुक्त आयोजना सरकारले बनाउनुपर्ने जोड दिँदै उनले समय बितिसकेपछिको उर्जा उत्पादनको अर्थ नरहने पनि बताएका छन् ।