काठमाडौँ । धनगढी उपमहानगरपालिका-१४ फूलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी मगरले व्यक्तिगत लगानीमा दुनाटपरी उद्योग सञ्चानल गर्दै आएकी छिन् । छ वर्षदेखि ‘सानीडाँडा फूलबारी दुनाटपरी उद्योग’ दर्ता गरी रु आठ लाख लगानीमा उनले व्यवसाय गर्दै आएकी हुन् ।
सुरुमा सामुहिक लगानीमा उद्योग सञ्चालन गरे पनि अहिले व्यक्तिगत लगानीमा व्यवसाय सुरु गरेको मगरले बताइन् । उनले भनिन्, ‘अनुदानसहित रु एक लाख ५० हजार लगानीमा गाउँका २० जना महिलासँगको साझेदारीमा उद्योग सञ्चालन गरेका थियौँ । पछि काम सिक्दै गएँ, अहिले एक्लैले व्यवसाय गर्दै आएकी छु ।’
आर्थिक स्थितिका कारण राहदानी बनाई विदेश जान तयार भएकी उद्यमी मगरले स्थानीयस्तरमा स्वरोजगार बन्ने योजनासँगै वैदेशिक रोजगारको मोह त्यागेकी थिइन् । अहिले उनी आफू स्वरोजगार बन्नुका साथै स्थानीय केही व्यक्तिलाई रोजगार दिएकी छिन् ।
मगरका अनुसार उद्योगबाट मासिक रु एक लाखको कारोबार हुन्छ । कामदारलाई ज्यालादारी र परिवारको खर्च कटाएर मासिक रु २५ हजार बचत हुने गरेको उनले जानकारी दिएकी छिन् ।
चार जनाको परिवारको सबै खर्चसहित छोराछोरीको शिक्षादिक्षा यहीँ व्यवसाययले सञ्चालन भइरहेको उनले बताइन् । ‘सुरुमा आर्थिक स्थिति कमजोर थियो, दैनिकी चलाउन समस्या भएपछि विदेश जाने सोचले राहदानी बनाएकी थिएँ ।’, उनले भनिन्, ‘अहिले पनि श्रीमान् वैदेशिक रोजगारी सिलसिलामा साउँदीमा हुनुहुन्छ । यही व्यवसायबाट दैनिकीमा परिवर्तन आएको छ ।’
दुनाटपरी उद्योग सञ्चालनका साथै महिलालाई तालिम पनि दिने गरेको मगरले उल्लेख गरिन् । वडाबाट आएको क्षमता विकास कार्यक्रममार्फत स्थानीय महिलालाई आफूले तालिम दिएको उनले बताइन् । धनगढी, अछाम, बर्दिया, हसुलियालगायत विभिन्न स्थानका ६० जनाभन्दा बढी महिलालाई दुनाटपरीसम्बन्धी तालिम दिएको महिला उद्यमी मगरले जानकारी दिएकी छिन् ।
उद्योगबाट दैनिक तीन हजार दुना र तीन हजार टपरी उत्पादन हुँदै आएको जनाउँदै उनले टपरी रु चार र दुना रु एकमा बिक्री हुने बताइन् । आफूले उत्पादन गरेका दुनाटपरी धनगढी, महेन्द्रनगर, झलारी, हसुलिया साथै पोखरासम्म पुग्ने उनले उल्लेख गरेकी छिन् । सबैभन्दा बढी कारोबार पोखराका व्यवसायीसँग हुने गरेको मगरको भनाइ छ । ‘आफूले उत्पादन गरेको दुनाटपरी अन्य व्यवसायीले ‘प्याकिङ’ गरी आफ्नै कम्पनीको लोगो लगाएर मँहगोमा बिक्री गर्दछ ।’, उनले भनिन्, ‘प्याकिङ गर्ने उपकरण आफूसँग भएको भए आफ्नै कम्पनीको छाँप लगाएर अझ आम्दानीका साथै रोजगारी बढाउने सकिने थियो ।’
त्यस्तै, मगरले सुदूरपश्चिम प्रदेशबाट आफू उत्कृष्ट महिला उद्यमिका रूपमा छनोटमा भई गत चैतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मनित भएको बताइन् । उद्योगका लागि स्थानीय तथा प्रदेश सरकारबाट अनुदान प्राप्त भएमा प्याकिङ गर्ने उपकरण खरिद गर्नुका साथै व्यवसायलाई विस्तार गर्ने योजना रहेको उनले जानकारी दिएकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्