काठमाडौँ । नेपालको सार्वजनिक ऋण झण्डै पौने २७ खर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार नेपालको कुल सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब ५७ करोड पुगेको हो ।
गत आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रूपैयाँ ऋणको दायित्व थपिएपछि सार्वजनिक ऋणको २६ खर्ब ६९ अर्ब ५७ करोड पुगेको हो । जुन कूल गार्हस्थ्य उत्पादनको ४३. ७१ प्रतिशत हुन आउँछ । कूल सार्वजनिक ऋणमा असार मसान्तसम्म वैदेशिक ऋणको हिस्सा ५२.४९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४७.५१ प्रतिशत छ ।
कार्यालयका अनुसार हाल सरकारले रु १२ खर्ब ६३ अर्ब छ करोड ४५ लाख आन्तरिक र रु १४ खर्ब एक अर्ब ३५ करोड २८ लाख बाह्य ऋण तिर्न बाँकी छ । कूल गार्हस्थ्य उत्पादनको आधारमा आन्तरिक ऋण २२. १४ र बाह्य ऋण २४. ५६ प्रतिशत हुन आउँछ ।
अघिल्लो आव २०८०/८१ को अन्तिमसम्म सार्वजनिक ऋण २४ खर्ब ३८ अर्ब ४८ करोड थियो । देशको आम्दानीको तुलनामा खर्च धेरै भएपछि नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ ।
एक वर्ष अवधिमा सरकारले सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमा ३ खर्ब ६२ अर्ब ५९ करोड खर्च गरेको छ । यो वार्षिक बजेट विनियोजनको तुलनामा ९०.०१ प्रतिशत हो ।
नयाँ सार्वजनिक ऋणको आँकडा अनुसार प्रत्येक नेपालीको भागमा ९१ हजार ५ सय ३४ रुपैयाँ ऋण पुगेको छ । यस्तो प्रतिव्यक्ति ऋण नेपालको कुल सार्वजनिक ऋणलाई कुल जनसंख्याले भाग गरेर निकालिएको हो ।