काठमाडौँ । पाल्पामा सवारी लाइसेन्सका लागि खुलेआम पैसाको ‘डिल’ हुने गरेको पाइएको छ । यातायात व्यवस्था कार्यालयका कर्मचारीले नै एजेन्ट खटाएर पैसाको ‘डिल’ गर्ने गरेको पाइएको हो ।
यतिसम्म कि यातायात कार्यालयमा हुने यस्तो धन्दामा कार्यालयका प्रमुखको नै मिलेमतो रहेको आरोप लागेको छ ।
कार्यालयले सवारी लाइसेन्सको लिखित र ट्रायलमा फेल भएकाहरुलाई पनि पैसा लिएर पास गराउने गरेको तथ्य फेला परेको छ । यसरी फेल भएकालाई पनि पास गराएर लाइसेन्स दिएबापत एजेन्टमार्फत २० देखि ३० हजार रुपैयाँसम्म असुली गर्ने गरेको सेवाग्राहीहरुले बताएका छन् ।
यसरी यातायात कार्यालय पाल्पामा खुलेआम भइरहेको लाइसेन्सको खरिद-बिक्रीको तथ्य बाहिरिएपछि अहिले लाइसेन्सका लागि पैसा बुझाउनेहरु सम्पर्कमा आउन थालेका छन् । यता यातायात व्यवस्था सेवा कार्यालय पाल्पाका प्रमुख लक्ष्मण घिमिरेले भने यस्तो कार्यमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । यद्यपि प्रहरीले यस्तो कार्यमा यातायात प्रमुखको समेत संलग्नताको आशंकामा अनुसन्धान गरिरहेको बुझिएको छ ।