काठमाडौँ । आइएमई पे र खल्तीले साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुवै कम्पनी एकआपसमा मर्ज भएपछि बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।
तर, आइएमई पे र खल्तीले एकीकृत कारोबार सुरु गर्ने भन्दा ठिक एकदिन अगाडि आफूलाई देशकै ‘अब्बल डिजिलट वालेट’ दाबी गर्ने इसेवामा समस्या आएको छ ।
बुधबार बिहानैदेखि इसेवामा समस्या देखिएको हो । हाल इसेवामा एकाउन्ट अटो लगआउट हुने, लगइन नहुने, रकम ट्रान्सफर (भुक्तानी) गर्न नमिल्ने, भए पनि क्यान्सिल हुने लगायतका समस्या देखिएका छन् । इसेवाका एक्कासी समस्या देखिएपछि इसेवा प्रयोगकर्ताहरु मर्कामा परेका छन् ।
यसो त इसेवामा विगतदेखि नै विभिन्न समस्या देखिँदै आएको थियो । अझ आइएमई पे र खल्तीबीच मर्जरको प्रक्रिया अघि बढेपछि इसेवामा दिनहूँजसो समस्या देखिइरहेको थियो । यतिसम्म की केही समयअघि इसेवामा एक हप्तामै चार पटकसम्म इसेवामा प्राविधिक समस्या देखिएको भन्दै सूचना निकालेको थियो ।
एकातर्फ दुई ठूला डिजिटल वालेट (आइएमई पे र खल्ती) कम्पनीबीच मर्जर र अर्कोतर्फ इसेवामा समस्या देखिनुलाई धेरैले संयोग मात्र मानेका थिएनन् । अझ इसेवाकै कर्मचारीले इसेवामा देखिइरहेको प्राविधिक समस्याले इसेवासँग प्रतिष्पर्धा गरिरहेका अन्य सहज भएको बताएका थिए । यहीबेला इसेवाका प्रयोगकर्ता घटिरहेका छन् भने आइएमई खल्तीमा सिफ्ट भइरहेको पनि पाइएको छ । यसले एकीकृत कारोबार सुरु गर्नुभन्दा एकदिन अघि नै इसेवामा समस्या देखिनुलाई नियोजित षड्यन्त्रका रुपमा विश्लेषण गर्न थालिएको छ ।