काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा ६.५१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५० करोड ४२ लाख ८० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशतले बढेर २ अर्ब २७ करोड २० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको सञ्चालन नाफा १० प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा २१३.८१ प्रतिशतले बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ०.०४ रुपैयाँले बढेर १५.१० रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३०.६५ गुणा रहेको छ । यस अवधिमा बैंकको खराब कर्जा ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ । चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १ करोड ६८ लाख रुपैयाँ रहेको छ ।