काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले देश जटिल मोडमा रहेको बताएका छन् । श्रम उत्पादनमा वाइसिएल अभियानको शुभारम्भ गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले देश अहिले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले निकै नै जटिल मोडमा रहेको उल्लेख गरेका छन् । अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप समेत प्रचण्डले लगाएका छन् ।
वर्तमान सरकार सुशासनको विरुद्धमा खडा भएको आरोप लगाउँदै सम्पूर्ण रुपमा देशलाई असफल बनाउने दिशातर्फ अग्रसर भएको प्रचण्डले बताएका छन् । जनतासँग राम्रो सम्बन्ध बढाएर श्रम र उत्पादन कार्यमा आफ्नो उत्पादनलाई जोडेर सुशासनको पक्षमा, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा लाग्नुपर्ने प्रचण्डको भनाई छ ।
त्यस्तै, प्रचण्डले युवालाई संगठित गरेर मात्रै परिवर्तन उल्ट्याउनेहरुविरुद्ध सफलता हात पार्नसक्ने बताएका छन् । आफूहरुले खबरदारी गर्दागर्दै पनि सरकार यसरी नै भ्रष्टाचारमा लिप्त हुने र जनभावना विपरित गए सरकारको प्रतिवाद सडकबाट गर्ने उनले चेतावनी दिएका छन् ।