काठमाडौँ । पछिल्लो केही वर्षयता नेपालबाट विदेशिने नर्सको संख्या ह्वात्तै बढेको छ । नेपालमा करियर नदेखेपछि नर्सिङ पढेर विदेश जाने नर्सहरुको संख्या बढेको हो ।
‘एक त नेपालमा नर्सिङ पढ्नै चुनौतीपूर्ण छ । त्यसैमाथि पढेर पनि राम्रो काम र तलब पाइँदैन ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक नर्सले भनिन्, ‘लाखौँ खर्च गरेर पढ्यो, तलब १२-१५ हजार हुन्छ । त्यतिले कसरी पुग्छ ।’
ती नर्सका अनुसार हाल नेपालमा नर्सका लागि जागिर पाउनै गाह्रो छ । पाइहाले पनि अधिकांश अस्पतालले १५ देखि २० हजारसम्म मात्र पारिश्रमिक दिने गर्छन् । ‘१५-२० हजारको तलबमा कामको प्रेसर धेरै हुन्छ । त्यसैले पनि नेपालमा नर्सका लागि करियर छ जस्तो लाग्दैन ।’, उनले भनिन् ।
यसो त हाल नेपालमा ७३ हजार ८ सय ८९ जना नर्स रहेको तथ्यांक छ । जसमध्ये २६ हजार ३ सय ९३ जनाले मात्र लाइसेन्स नवीकरण गरेका छन् । लाइसेन्स नवीकरण नगरेका अधिकांश देश बाहिर रहेको बताइएको छ । यद्यपि यसको तथ्यांक भने नभएको नर्सिङ काउन्सिलले जनाएको छ ।
काउन्सिलका अनुसार पढाइका लागि विदेश जाँदा काउन्सिलको अनुमति लिनुपर्छ । यही कारण पढाईका लागि जाने नर्सको विवरण काउन्सिलसँग हुन्छ । तर, पढाइबाहेक अन्य कामका लागि जाने नर्सहरुको तथ्यांक भने नहुने काउन्सिलले जनाएको छ ।