काठमाडौँ । झापामा दुर्घटनामा परेका मान्छेलाई उद्दार गर्दा घाँटीको सिक्री चोर्ने दुई जना पक्राउ परेका छन् । झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा भएको दुर्घटनामा घाइतेलाई उद्दार गर्दा घाँटीको सिक्री चोर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) खगेन्द्र बहादुर खड्काले बताएका छन् ।
डिएसपी खड्काका अनुसार कमल गाउँपालिका-६ बस्ने ३० वर्षीय मनोज लिम्बुको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका लिम्बुलाई एम्बुलेन्समा हाल्ने क्रममा उनले घाँटीमा लगाएको सुनको सिक्री हराएको थियो । सिक्री हराएको भन्दै उनले साउन ३१ गते प्रहरीमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा अनुसन्धान गर्दा चोरीमा संलग्न शिवसताक्षी नगरपालिका-८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बुलाई पक्राउ गरिएको डिएसपी खड्काले बताएका छन् ।
लिम्बुले दिएको निवेदनमा ५६ ग्राम २५ मिलिग्रामको सुनको सिक्री हराएको दाबी गरिए पनि हालसम्म ३९ ग्राम २२ मिलिग्रामको सुनको सिक्रीको टुक्रा भेटिएको छ भने उनीहरुको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामद गरिएको छ । उनीहरुले घाइतेको उद्दार गर्ने क्रममा घाइतेकै घाँटीमा रहेको सिक्री चोरी गरेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका दुवैजनामाथि प्रहरीले ‘मुलुकि अपराध संहिता, २०७४ अन्तर्गत चोरी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।