काठमाडौँ । केही दिनअघि कनेक्ट आईपिएस प्रयोगकर्ताहरुको मोबाइलमा एउटा एसएमस आयो । उक्त एसएमएसमा ‘तपाईंको कनेक्ट आईपिएस खाता लक भएको छ’ भन्दै सन्देश पठाइएको थियो ।
यसरी खाता नै लक भएको छ भनेपछि धेरैले उक्त एसएमएसमा पठाइएको लिंक खोले । लिंक ओपन गर्दा कनेक्ट आईपिएसकै जस्तो वेबसाइट खुल्यो । खाता भेरिफाइ गर्न धेरैले उक्त वेबसाइटमा आफ्ना सम्पूर्ण विवरण भरिदिए । तर, सो विवरण प्रयोग गरेर ह्याकरले प्रयोगकर्ताको बैंक खातामा पहुँच पुर्यायो र दर्जनौँ बैंक खाता रित्तो पारिदियो ।
यसरी ह्याकरले दर्जनौँ ग्राहकको बैंक खाता रित्तो पारिसक्दा पनि न कनेक्ट आईपिएस बोल्यो, न एसएमएस सेवा प्रदायक कम्पनी बोल्यो, न त नेपाल टेलिकम बोल्यो । बरु प्रहरीसम्म पुगेकाहरु पनि प्रक्रियाका नाममा यताउता चक्कर काट्न बाध्य छन् ।
तर, कनेक्ट आईपिएस ह्याक गरेर दर्जनौँ ग्राहकको बैंक खाता रित्तो भइसकेपछि मात्र सम्बन्धित निकायले चासो देखाउन थालेका छन् । हाल नेपाल टेलिकमले पछिल्लो केही दिनदेखि म्यासेजमार्फत कनेन्ट आईपिएस खाता लक भएको र पुनः सुचारु गर्न खाता भेरिफाइ गर्नुपर्ने भन्दै पठाइएको लिंक नखोल्न आग्रह गर्दै सूचना निकालेको छ । सूचना टेलिकमले कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक वा एक्स लगायतका सामाजिक सञ्जालमा सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवाका बारेमा अद्यावधिक हुन आग्रह गरेको छ ।
कनेक्ट आईपिएसले पनि नेपाल टेलिकमको सोही सूचना सेयर गरेको छ । तर, उक्त विषयमा आफ्नो आधिकारिक धारणा अझै सार्वजनिक गरेको छैन । यद्यपि यसरी फिसिङ लिंक पठाएर कसले कनेक्ट आईपिएस ह्याक गरेर बैंक खाता रित्ता बनायो भन्ने खुलेको छैन ।