काठमाडौँ । बियर बनाउने बोतल र कच्चा पदार्थको आयात बढेको छ । नेपालका बियर उत्पादक तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै दुई वर्षमा १ अर्ब ९७ करोड ६३ लाख २२ हजार रुपैयाँ बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फर्मेन्टेड जौ) आयात गरेका छन् ।
त्यही दुई वर्षमा बियर उत्पादक कम्पनीहरुले १ अर्ब ८७ करोड ४ लाख ८८ हजारको बियरको सिसाको बोतल आयात गरेका छन् ।
बियरका लागि बर्सेनि फर्मेन्टेड जौको आयात बढ्दै गएको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत लेखनाथ भट्टराईले बताएका छन् । आयात बढेसँगै जौ राजस्व संकलन हुने मालवस्तुमा चौथो नम्बरमा रहेको भट्टराईको भनाई छ ।
भट्टराईका अनुसार अघिल्लो आर्थिक वर्षमा नेपालमा ९६ करोड ६७ लाख ९९ हजार बराबरको १३ हजार २ सय २७ मेटन माल्ट आयात भएको थियो । त्यसबापत २९ करोड ५ लाख ४७ हजार भन्सार राजस्व संकलन भएको थियो । तर, गत आर्थिक वर्षमा भने अर्ब ९५ लाख २३ हजार बराबरको १४ हजार १ सय २३ टन माल्ट आयात भएको थियो । त्यसबापत ३१ करोड ८३ लाख राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षमा ९७ करोड २५ लाख ७५ हजार बराबरको ३ लाख ३४ हजार ४ सय ६३ ग्रुस बोतल आयात भएको छ । एक ग्रुसमा १ सय ४४ बोतल हुन्छ । त्यसबापत २१ करोड ४१ लाख ८१ हजार भन्सार राजस्व प्राप्त भएको छ । अघिल्लो आर्थिक वर्षमा भने ८९ करोड ७९ लाख १३ हजार बराबरको ३ लाख १२ हजार २ सय २५ ग्रुस बोतल आयात भएको थियो । त्यसबापत १९ करोड ७ लाख २३ हजार राजस्व प्राप्त भएको छ ।