काठमाडौँ । सिटिजन्स बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.०८ प्रतिशतले घटेको हो । बैंकले असार मसान्तसम्ममा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खराब कर्जा बढेपछि बैंकको नाफा घटेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र खुद फि तथा कमिसन आम्दानी १९.७४ प्रतिशत बढेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.१३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.३२ प्रतिशत घटेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ । यही कारण बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ । जसका कारण खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो ।
नाफासँगै समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसामा झरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा छ भने मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ । १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।