काठमाडौँ । नवलपरासीमा प्रहरीले दिउँसै सोलारको ब्याट्री चोर्ने गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपालले तीन जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।
उनका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका-९ बस्ने भीम बहादुर पोजा, पप्पु चेपाङ र इच्छाकामना गाउँपालिका-७ बस्ने डम्बर चेपाङ रहेका छन् ।
उनीहरुलाई गैँडाकोट क्षेत्रबाट पक्राउ गरिएको डिएसपी नेपालले बताएका छन् । नेपालका अनुसार उनीहरुलाई इलेक्ट्रिक रिक्सा, भर्याङ र चोरी गरिएका केही ब्याट्रीसहित पक्राउ गरिएको छ ।
पछिल्लो केही समयदेखि उनीहरु यस्तो चोरीमा संलग्न रहेको प्रहरीले जनाएका छन् । उनीहरुले सडकमा राखिएका ‘स्ट्रिट लाइट’का ब्याट्रीहरु चोरी गर्ने गरेको डिएसपी नेपालले बताए । ‘उनीहरुलाई इलेक्ट्रिक रिक्सा र भर्याङसहित पक्राउ गरेका छौँ ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै नेपालले भने, ‘उनीहरुले दिउँसै सोलार ब्याट्रीहरु चोरी गर्ने गरेको पाइएको छ । थप अनुसन्धान गर्दैछौँ ।’
यसरी चोरी गरिएका ब्याट्रीहरु उनीहरुले सस्तोमा अरुलाई बेच्ने गरेको प्रहरीले जनाएको छ । तर, उक्त घटनामा अन्यको पनि संलग्नताको आशंकामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।