काठमाडौँ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पछिल्लो पाँच महिनादेखि अन्तराष्ट्रिय उडान ठप्प छन् । सन् २०२५ को जनवरीदेखि मार्चसम्म ३ महिनामा सन्तोषजनक रहेको अन्तराष्ट्रिय उडान त्यसयता भने ठप्पप्राय बनेको छ ।
अन्तराष्ट्रिय उडान ठप्प भएपछि अहिले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थललाई टार्गेट गरेर सुरु गरिएका होटल व्यवसाय धराशायी बनेका छन् ।
भैरहवाका व्यवसायीका अनुसार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि व्यवसायीहरुले ठूलो लगानी होटल तथा पर्यटन व्यवसायमा लगाएका छन् । विमानस्थललाई नै लक्षित गर्दै नयाँ नयाँ होटलहरु खुलेका छन् भने पर्यटन व्यवसायीहरुले पनि ठूलो लगानी व्यवसायमा खनाएका छन् ।
तर, हाल विमानस्थल नचलेपछि व्यवसायीहरु तनावमा परेका छन् । ‘त्यही विमानस्थललाई हेरेर होटलमा करोडौँ लगानी गर्यौँ । तर अहिले त्यही विमानस्थल नचलेपछि तनाव छ ।’, एक व्यवसायीले भने, ‘लगानी उठ्नु त धेरै टाढाको कुरा भएको पनि सिद्धिन्छ कि भन्ने पीर परिसक्यो ।’
यसो त सरकारले उडान संख्या बढाउनका लागि पनि पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा छुटको सुविधा पनि दिँदै आएको छ । तर पनि यी विमानस्थलमा अन्तराष्ट्रिय उडानले निरन्तरता पाउन सकेका छैनन् । यसले एकातर्फ राज्यको अरबौँ लगानी डुब्ने खतरा बढेको छ भने यही स्थिति रहे व्यवसायीहरु टाँट पल्टिने निश्चितप्राय देखिएको छ ।