काठमाडौँ । सिप्रवी सेक्युरिटिज (ब्रोकर नम्बर २२)का महाप्रबन्धक जयन्त श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सेयर कारोबारी दिपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार श्रीवास्तव साउन २० गते आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । सोही बेला थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।
यसो त उनीविरुद्ध असार ९ गते नै पक्राउ पुर्जी जारी भएको थियो । उनीविरुद्ध ११ करोड ५५ लाख रुपैयाँ ठगी आरोपमा अनुसन्धान अघि बढाएको प्रहरीको भनाई छ ।
श्रीवास्तवसहित अग्रवालले ब्रोकर नम्बर २२ का अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध पनि उजुरी दिएकी छिन् । अरु भने सम्पर्कमा नभएका कारण पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ ।