काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडको नाफा उल्लेख्य बढेको छ । कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १६१.१३ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा कम्पनीले कुल ९५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७३.३० प्रतिशतले बढेर ७ अर्ब २० करोड रुपैयाँ पुगेको छ । कम्पनीको कुल नाफा ७७.२८ प्रतिशतले बढेको छ भने सञ्चालन मुनाफा १६६.७८ गुणाले बढेको छ ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ । यस अवधिमा कम्पनीको ईपीएस १७ रुपैयाँ ३६ पैसा बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ । यसअवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा छ भने मूल्य आम्दानी अनुपात ३९.८७ गुणा छ ।
३ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १ अर्ब १० करोड रुपैयाँ रहेको छ ।