काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको र मुद्रास्फीति घटेको देखिएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति रू पाँच खर्ब ९४ अर्ब ५४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रू पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको थियो । त्यस्तै, आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।
गत आर्थिक वर्षमा कुल रू १७ खर्ब २३ अर्ब २७ करोड बराबर विप्रेषण भित्रिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९. २ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको हो । गत असार महिनाको विप्रेषण आप्रवाह मात्रै रु एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ ।
त्यसैगरी, २०८१ असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्त सम्मा रु २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर हो । उक्त सञ्चितिले १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थतन्त्रका बाह्य सूचकहरु सुधार हुँदै जाँदा विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च अवस्थामा पुगेको छ ।
त्यसैगरी गत आवमा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । अघिल्लो आव यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रू ७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई रु ५४ खर्ब ९८ अर्ब पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्