काठमाडौँ । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूले तालाबन्दी गरेका छन् । लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्दै आएको छ ।
नगरपालिकाले गएको असार ११ गते बैंकको खातामा सामाजिक सुरक्षा भत्ताको रकम जम्मा गरेको थियो । सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उद्देश्यले बैंकमा रकम जम्मा गरेपनि अहिलेसम्म नपाउनु दु:खद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटाले बताए । आफू यस कार्यलयमा हाजिर भएर आएपछि पहिलो प्राथामिकता सामाजिक सुरक्षा भत्ता वितरणलाई दिएको उनले उल्लेख गरेका छन् ।
यता, एक वर्षदेखिको बालपोषण भत्ताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन् । सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरूको गुनासो छ ।
ज्येष्ठ नागरिकको भत्ताको लागि नगरपालिकाले ५ करोड रकम जम्मा गरेको थियो भने बालपोषणको लागि ९४ लाख रुपैयाँ बैंकमा छ ।
एनआईसी एशिया बैंकका शाखाका म्यानेजर सदेउ प्रवेजले विविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताएका छन् । तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम वितरणमा ढिला भएको उनको भनाइ छ । अब छिटै वितरण गरिने उनले जानकारी दिएका छन् ।
गुजरा नगरपालिकाको तथ्यांक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता बुझ्ने संख्या रहेका छन् ।