काठमाडौँ । महालक्ष्मी विकास बैंक घोटाला प्रकरणमा बैंकका सिइओमाथि कर्मचारीलाई जोगाउन खोजेको आरोप लागेको छ । बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा भएको २ करोड ८५ लाख रुपैयाँ अपचलन प्रकरणमा पक्राउ परेका आफ्ना कर्मचारीलाई बैंकका सिइओ दिपेश लम्सालले जोगाउन खोजेको आरोप लागेको हो ।
बैंकले गरेको प्रारम्भिक अनुसन्धानबाट बैंकका कर्मचारीले नेपालमा बर्जित अनलाइन जुवा प्लेटफर्म वान एक्स बेटमा बैंकको पैसा लगाएको खुलेको थियो ।
यसरी बैंकका कर्मचारीले बैंकको रकम अवैध जुवामार्फत अपचलन गरेको पाइएपछि बैंकको रकम अपचलन प्रकरणमा बैंकका चार जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दार्चुला पुर्याइएको छ ।
अहिले भने बैंकको इन्टरनल अडिटसहितको टोली बैंकको गोकुलेश्वर ब्रान्चमा पुगेको छ । सो ब्रान्चका चार जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि बैंकले अरु कर्मचारी ल्याएर शाखा सञ्चालन गरेको छ भने प्रहरी र बैंकको टोलीले थप अनुसन्धान गरिरहेका छन् ।
तर, बैंकले भने हालसम्म प्रहरीमा आधिकारिक रुपमा उजुरी वा जाहेरी नदिएको स्रोतको दाबी छ । स्रोतका अनुसार बैंकको टोलीले बैंकबाट अपचलन भएको रकम कसरी उठाउने ? भन्नेतर्फ बढी ध्यान दिएका छन् । बैंकको करोडौँ रकम अपचलन भएको पुष्टि हुँदा र सो रकम अवैध जुवामा प्रयोग भएको खुलिसक्दा पनि प्रहरीमा उजुरी नदिनुले बैंकका सिइओको नियतमाथि नै शंका उब्जाएको छ । यतिसम्म कि सकेसम्म केस बाहिर नल्याई बैंकको पैसा उठाउन सिइओले निर्देशन नै दिएको बैंकका एक उच्च अधिकारीले बताएका छन् ।
यता सो विषयमा बुझ्न सम्पर्क गर्न खोज्दा पनि बैंकका सूचना अधिकारी अनुज आचार्य फोन नै उठाएनन् । बैंकका सिइओ लम्सालले फोन काटिदिएका छन् ।