काठमाडौँ । गत शुक्रबार अर्थ सरोकारका सम्पादकको फोनमा एउटा सूचना आयो । सूचनामा स्रोत भन्दै थियो, ‘महालक्ष्मी विकास बैंकमा करिव २ करोड ८५ लाख रुपैयाँको घोटाला भएको छ । कर्मचारीले बैंकमा जम्मा भएको पैसा वान एक्स बेटमा हारेका छन् । बाँकी आफैँ बुझ्नुहोला ।’
सूचनाको प्रकृति ‘सिरियस’ थियो, तर थप सूचना थिएन ।
त्यसपछि हामीले स्रोतले दिएको बैंकको गोकुलेश्वर शाखाका शाखा प्रबन्धक सागर शाहीलाई फोन गर्यौं । सुरुमा उनले हाम्रो फोन उठाएनन् । पछि दार्चुलाकै एक पत्रकार साथीलाई फोन गर्न लगाउँदा उनी बडो आत्मविश्वाससँग भन्दै थिए ‘कहाँ त्यस्तो हुनु, सबै हावा कुरा हो । केही पनि भएको छैन ।’
त्यसपछि हामीले तत्काल जिल्ला प्रहरी कार्यालय दार्चुलामा केहि सूचना छ कि भनेर जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहाललाई फोन गर्यौं । तर उनले यस विषयमा केही पनि जानकारी नभएको बताए । त्यसपछि डिएसपी दाहालले बैंकका शाखा प्रबन्धकसँग पनि कुरा के हो भन्ने बुझ्न प्रयास गरे । तर, शाहीले फोन उठाएनन् । त्यसको केही समयपछि शाहीको फोन अफ भयो ।
हामीले स्रोतसँग थप भेरिफाइ गर्न खोज्यौँ । ‘कतैबाट पनि सूचना भेरिफाइ भएन । के गर्ने होला ?’ त्यसपछि स्रोतले बैंकबाट ४ जनाको टोली दार्चुला पुगेको र सबै कर्मचारीलाई निलम्बन गरिएको थप सूचना दिए ।
सोही सूचनालाई टेकेर हामीले बैंकका गुनासो सुनवाई अधिकृत बसन्त बस्कीलाई फोन गर्यौं । फोनमा उनले आफू बिदामा रहेको दाबी गरे । कुरै कुरामा उनले भने ‘यस्तो कुरामा औपचारिक मैले केही बोल्न मिलेन, अनुजजी (सूचना अधिकारी)लाई सोध्नुहोस् ।’
बस्कीको बोलीको हाउभाउले बैंकभित्र केही न केहि घोटाला भएकै छ भन्ने कुरालाई प्रष्ट संकेत गर्यो । त्यसपछि हामीले बैंकका सूचना अधिकारीलाई फोन गर्यौं । सूचना अधिकारी अनुज आचार्य साह्रै सिधा र प्रष्ट वक्ता हुन् । तर यसपटक उनले फोन उठाएनन मात्र होइन, मेसेजको रिप्लाईसमेत गरेनन् । आचार्यको हाउभाउले पनि केही न केही बिग्रेको छ भन्ने प्रष्ट संकेत गर्यो । त्यसपछि हामीले बैंकका सीइओ दिपेश लम्साललाई फोन गर्यौं । उनले निरन्तर फोन काटिरहे ।
कतैबाट पनि सूचना भेरिफाइ नभएपछि हामीले महालक्ष्मी विकास बैंकका नजिकका एक सिनियर कर्मचारीलाई फोन गरेर यस विषयमा सोध्यौँ । उनले स्रोतको गोपनियताको विश्वास गरेर समाचार लेख्नु भनेर अनुरोध गरे र बैंकमा भएको घोटालाको सविस्तार भनिदिए ।
त्यसपछि हामीलाई स्रोतले दिएको जानकारी शत् प्रतिशत सहि रहेछ भन्ने यकिन भयो । हामीले पुन: दार्चुलाका डिएसपीलाई फोन गरेर घटनाबारे पाएको जानकारी गरायौँ ।
यतिबेलासम्म प्रहरीले पनि घटनाबारे बैंकमा फोन गरेर अनौपचारिक सोधपुछ गरिसकेको रहेछ । हाम्रो सूचनाका आधारमा बैंकले प्रहरीलाई स्ट्याण्डबाईसमेत राखिसकेको रहेछ । डिएसपी दाहाल भन्दै थिए, ‘बैंक घोटालाको केसका बारे स्थानीय पत्रकारले के हो भनेर सोधेपछि पहिलो जानकारी पायौँ । तपाईंहरुले नै उहाँलाई सोध्न लगाउनुभएको रहेछ । बैंकले हामीलाई अनुसन्धानका लागि भनेको छैन, तर हामी स्ट्याण्डबाई छौं ।’
यो बीचमा महालक्ष्मी बिकास बैंकका एक सिनियर कर्मचारीले घटनाको विवरण हामीलाई घोटाला भएको रकम, घटनाको विवरण र बैंकबाट दार्चुलामा बैंकको टीम गएको तथ्यदेखि बैंकका सो शाखाका सबै कर्मचारीलाई निलम्बन गरिसकेको जानकारी दिएपछि हामीले समाचार ब्रेक गर्यौं र लेख्यौँ- ‘महालक्ष्मी विकास बैंकमा घोटाला भएको छ ।’
बैंकले गुपचुप राख्न खोजेको घटना अव गुपचुप रहने कुरै भएन । बैंकिङ कसुरसम्बन्धि मात्र होइन जुवा जोडिएको विषय भएकाले प्रहरीले हस्तक्षेप गर्ने देखेपछि दार्चुला गएको टोलीले बैंकका सिनियर मेनेजमेन्टसँग सल्लाह गर्यो । ‘मिडियामा न्युज नै आईसक्यो । के गर्ने ?’
त्यसपछि उनीहरु प्रहरीलाई खबर गर्नुपर्छ भन्नेमा पुगे । प्रहरीकहाँ पत्र पुग्यो । सोही पत्रको आधारमा शनिबार प्रहरीले ४ जनालाई नियन्त्रणमा लियो । शनिबार भएकाले अदालतबाट म्याद थप गर्न मिलेन । आइतबार प्रहरी म्याद थप गरेर अनुसन्धान गर्ने प्रक्रियामा जुट्यो । यति बेलासम्म पनि बैंकका सूचना अधिकारीले थप सूचना दिएनन्, बैंक ‘थाहा छैन’ भनेर नै बस्यो ।
४ कर्मचारी पक्राउ परेपछि अर्थ सरोकारले पुन: फलोअप रिपोर्ट हालेर ४ जना पक्राउ परेको सूचना दियो । आइतबार प्रहरीले म्याद थप गरेर अनुसन्धान अघि बढायो । अर्थ सरोकारको न्युज ‘भाइरल’ भईसकेकाले प्रहरीमा यस सम्बन्धि चौतर्फी प्रश्न आउन थाले, अरु मिडियाहरुले फोन गर्न थाले । त्यसपछि त प्रहरीले खुलेरै यस विषयमा अनुसन्धान भइरहेको खबर सबैलाई जानकारी गरायो ।
यस विषयमा राससका दार्चुला सम्बाददाताले विशेष चासो दिए । आफ्नो जिल्लाको घटना भएकाले अर्थ सरोकारका सम्पादकसँग विशेष सोधीखोजी गरे । प्रहरीले पनि घटनामा संलग्नताको आरोपमा ४ जनालाई पक्राउ गरिएको सूचना दिएपछि उनले राससमा सो समाचार पठाए । राससमा समाचार आएपछि राससका ग्राहक भएका सबैजसो मिडियाले समाचार छापे । अन्तत: बैंकले गुपचुप राख्न खोजेको घटना सतहमा आयो ।
प्रहरीले अहिले यो घटनाबारे अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुसँग बयान लिने क्रम जारी छ । अहिले अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको छ । अनुसन्धान सकेर अदालतमा थुनछेक बहस हुनेछ । बहसपछि पक्राउ परेकाहरुलाई बाहिर बस्न दिने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषय यकिन हुन्छ । त्यसपछि अदालतले घटनाबारे आदेश गरे बमोजिम हुन्छ ।
खास बैंकिङ घोटालाको समाचार ब्रेक गर्ने हाम्रो सिलसिला यो पहिलो होइन । तर बैंकले थाहा पाएर पनि, थाहा छैन भनेको केस यसपाली उजागर भएको पक्कै हो । यो बीचमा यो समाचार संकलनमा हामीलाई सहयोग गर्ने स्रोत, दार्चुलास्थित स्थानीय पत्रकार , प्रहरी लगायत सबैलाई धन्यवाद ।
महालक्ष्मी विकास बैंकमा अन्य ठाउँमा पनि यस्तै घोटाला भएका चर्चा चलिरहेका छन् । हामी ती सूचना भेरिफाइ गर्ने प्रयास गरिरहेका छौँ ।