काठमाडौँ । आज (बुधबार) देखि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)को आयोजनामा ‘मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ । काठमाडौँको भृकुटिमण्डपमा एक्स्पो सुरु भएको हो । एक्स्पोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।
निकै तामझामका साथ एक्स्पो सुरु भए पनि एक्स्पो पुग्नेहरुको संख्या भने असाध्यै कम छ ।
एक्स्पोमा विभिन्न ब्राण्डका चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन प्रदर्शनमा राखिएका छन् । एक्स्पोको पहिलो दिन हजारौँले एक्स्पो अवलोकन गर्ने आयोजकले अपेक्षा गरिएको थियो । तर, एक्स्पो भने प्राय खाली देखिएको छ ।
नाइमा भर्खरै स्थापना भएको संस्था भएकाले पनि नाइमाको अटो शोमा केही फरक हुने अपेक्षा गरिएको थियो । तर, ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ विगतका अटो शो जति पनि व्यवस्थित नभएको एक्स्पो पुग्नेहरुले बताएका छन् । यसै पनि नाइमाको अटो शो हेर्न पुग्नेहरुको संख्या साह्रै कम छ । त्यसैमाथि खास नयाँ केही नहुँदा पनि एक्स्पो पुग्नेहरुमा खास उत्साह देखिएको छैन ।
आज (साउन २१) गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ । एक्स्पोमा गाडी मात्र नभएर नयाँ प्रविधिको समेत जानकारी र अनुभव लिन सकिने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले दाबी गरेकी छिन् । तर, एक्स्पो पुग्नेहरुले भने एक्स्पोमा खास केही नभएको बताएका छन् ।