काठमाडौँ । काठमाडौँको मध्य बानेश्वरस्थित मितेरी मार्गमा रहेको क्याट क्याफे नेपालले अहिले धेरैको ध्यान तानिरहेको छ । यो क्याफेमा मानिसहरू बिरालासँग समय बिताउँछन्, रमाउँछन् र तनाव घटाउँछन् ।
क्याट क्याफेको सुरुआत आकृति श्रेष्ठले गरेकी हुन् । उनी सानैदेखि बिरालो प्रेमी थिइन् उनले विदेश गएका बेला त्यहाँको क्याट क्याफे संस्कृति देखेर प्रभावित भइन् । नेपालमा पनि यस्ता ठाउँ हुनुपर्छ भन्ने सोचका साथ उनले २०७९ सालमा झम्सिखेलमा नेपालकै पहिलो क्याट क्याफे सुरु गरिन् । त्यही अहिले मध्य बानेश्वरमा सारिएको हो । अहिले यसको सञ्चालन आकृतिका भाइ आर्यन श्रेष्ठले गरिरहेका छन्। आकृति भने अहिले अस्ट्रेलियामा छिन् ।
आर्यन भन्छन्, ‘नेपालमा अझै पनि धेरैले बिरालालाई अशुभ मान्छन्। बिरालाले रोग सार्छ, अपशकुन ल्याउँछ भन्ने सोच छ । हामी त्यही सोच बदल्न चाहन्छौँ । क्याट क्याफे खोल्नुको मुख्य उद्देश्य भनेकै यस्तो सकारात्मक संस्कृति ल्याउनु हो जहाँ मानिस र जनावरबीच आत्मीय सम्बन्ध हुन्छ । मानसिक शान्तिको लागि पनि यस्तो ठाउँ आवश्यक छ ।’
क्याट क्याफेमा अहिले १७ वटा पर्सियन जातका बिरालाहरू छन्, जुन भारत र थाइल्याण्डबाट ल्याइएका हुन्। यहाँको मुख्य आकर्षण हो क्याट रुम । यसमा प्रवेश गर्न ५०० रुपैयाँ शुल्क लाग्छ, जसमा तपाईंले एक खानेकुरा र एक ड्रिंक रोज्न पाउनुहुन्छ । अनि स्वस्थ, सफा बिरालासँग घन्टौँ समय बिताउन पाउनुहुन्छ । ‘बिरालाहरू तपाईंको खाना हेरेर लोभिँदैनन्, उनीहरू तपाईंको संगतमा रमाउँछन् ।’, उनले भने ।
क्याट रुम तल्लो तलामा छ भने माथिल्लो तलामा सामान्य रेस्टुरेन्ट रहेको छ । जहाँ विभिन्न परिकार र पेय पदार्थ उपलब्ध छन् । क्याट क्याफे नेपालभरमै यस्तो पहिलो भएको दाबी आर्यनको छ । उनको योजना भनेको आगामी दिनमा यसको नयाँ शाखा खोल्ने हो । क्याट क्याफे बिहान ११ देखि साँझ ८ बजेसम्म खुल्छ । यसैगरी रेष्टुरेन्ट बिहान ११ देखि राति १० बजेसम्म खुला रहन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः