काठमाडौँ । अबदेखि घरजग्गा कारोबार गर्न लाइसेन्स लिनुपर्ने भएको छ । मालपोत नियमावली संशोधन गर्दै सरकारले घरजग्गा कारोबार गर्नेले अनिवार्य लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो ।
संशोधन गरिएको नियमावलीमा अब घरजग्गा कारोबार गर्दा अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ । घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था गरिने कुरा बजेट वक्तव्यमा समेत उल्लेख गरिएको थियो ।
यसो त घरजग्गा कारोबार गर्दा लाइसेन्स लिनुपर्ने व्यवस्था यसअघि नै लागू गर्ने तयारी गरिएको थियो । तर, व्यवस्था कार्यान्वयन हुन सकेको थिए । अहिले भने अन्ततः सरकारले नियमावली संशोधन गर्दै उक्त व्यवस्था गरेको छ । योसँगै अब घरजग्गा कारोबार गर्नेले अनिवार्य रुपमा लाइसेन्स लिनुपर्ने भएको छ ।
त्यस्तै, सरकारले राजपत्रमा सूचना नै प्रकाशित गरेर प्राकृति र कानुनी व्यक्ति वा कानुनी व्यक्तिबीच घरजग्गा कारोबार गर्न चाहनेका लागि दस्तुरसमेत तोकिएको छ । सूचना अनुसार एक पटकमा ५ करोड रुपैयाँसम्म कारोबार गर्ने व्यक्तिका हकमा ५ लाख रुपैयाँ चाहिने व्यवस्था गरिएको छ । त्यस्तै, एक पटकमा ५ करोडभन्दा घटी वा बढी जतिसुकै रकमको घरजग्गा कारोबार गर्ने व्यक्तिका हकमा १० लाख तोकिएको छ ।
त्यस्तै, लाइसेन्स नवीकरणका लागि समेत शुल्क तोकिएको छ । लाइसेन्स प्राप्त व्यक्तिले लाइसेन्स अवधि समाप्त हुनुभन्दा ३५ दिन अगावै नवीकरण बापत उपनियम १ को खण्ड (क) बमोजिमको कारोबार गर्नेका हकमा ४ लाख लाग्ने छ । खण्ड (ख) बमोजिम कारोबार गर्नेका हकमा ८ लाख दस्तुर तोकिएको छ भने घरजग्गा कारोबार गर्दा गलत सूचना, नक्सा, मूल्य वा स्वामित्व सम्बन्धी झुटो विवरण प्रस्तुत गर्न बन्देज लगाइएको छ ।