काठमाडौँ । नेपाल एसबिआई बैंकको नाफा सामान्य घटेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.८६ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकले कुल १ अर्ब ८० करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७.५५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ५.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.६२ प्रतिशत घटेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ६४ करोड ८३ लाख रुपैयाँबाट बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । यही कारण बैंकको नाफा घटेको हो ।
यसअवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको ईपीएस १ रुपैयाँ ८१ पैसाले घटेर १६ रुपैयाँ ५४ पैसामा झरेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ५९ पैसा छ भने मूल्य आम्दानी अनुपात २६.६० गुणा रहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २३ करोड ३ लाख रुपैयाँ रहेको छ । १० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ ।