काठमाडौँ । किताब यात्रा फाउन्डेसनले किताब जात्रा फेस्टिभल सम्पन्न गरेको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा दूतावास भवनमा अवार्ड वितरण, कविता वाचन, अन्तरक्रिया तथा पुस्तक प्रदर्शनसहित यूकेको दोस्रो संस्करण सम्पन्न भएको हो ।
वि.सं. २०७५ बाट शुरु भएको किताब जात्रा फेस्टिभल भारतमा चार र नेपालमा ६ पटक भइसकेको छ भने यूके दोश्रो संस्करण भएको आयोजकले जनाएको छ ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपाली कला संस्कृति र साहित्यलाई डायस्पोरामा समेत प्रवर्द्धन गर्न फाउण्डेसनले निर्वाह गरेको भूमिका सराहनीय भएको बताएका छन् ।
वरिष्ठ सञ्चारकर्मी टिकाराम यात्री मोडरेटर रहेको पहिलो सेसनमा राजदूत घिमिरेले निजामती कर्मचारी छँदा सिंहदरबारमा थिचिएको अनुभूति हुने भए पनि राजदूत बनेपछि उन्मुक्त, स्वतन्त्र तर चुनौति भारी रहेको बताए । ‘बिल्कुल अर्को समुदायमा नेपाल सरकारकै प्रतिनिधि भएर सबै आफैँले जिम्मेवारी लिनुपर्ने हुँदोरहेछ ।’, उनले भने, ‘गर्नुपर्ने धेरै हुन्छ । प्राथमिकता धेरै छन् । त्यसलाई साकार बनाउन लागिरहेको छु ।’
दूतावासको कन्सुलर सेवा चुस्त बनाउनुबाहेक आफू विशेष गरि इकोनोमी डिप्लोमेसीमा लागेको उनले बताएका छन् । ‘अहिलेसम्म यहांका प्रधानमन्त्रीको नेपाल भ्रमण नहुनु दुःखद भएकाले त्यसका लागि पहल भइरहेको छ । दोहोरो कर उन्मुक्तिमा काम गरिरहेका छौँ ।’, उनले भने । राजदूत घिमिरेले एक प्रसङ्गमा बेलायतमा नेपाली संघसंस्था धेरै खोल्नु भन्दा राम्रो बनाउन सुझाव दिएका छन् ।
विशेष अतिथि लर्ड रेमी रेन्जरले डिजिटल युगमा सबै रमाइरहँदा आफ्नो कला संस्कृति, किताब पढ्ने बानी नबिर्सन आग्रह गरे । यस्ता महोत्सवले नयाँ पुस्तालाई पनि उर्जा मिल्ने जनाउँदै लर्ड रेन्जरले गोर्खा सैनिक रोल मोडल कम्युनिटी भएकाले आफूले सम्मान गर्ने बताएका छन् ।

विभिन्न व्यक्तित्वलाई अवार्ड प्रदान
सो अवसरमा किताब यात्रा फाउन्डेसनले बेलायतको समुदायमा रहेर विभिन्न क्षेत्रमा सफलता प्राप्त गरेका तथा योगदान दिएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको छ । किताब जात्रा डायस्पोरा लाइफ टाइम अचिभमेन्ट अवार्ड बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीलाई, किताब जात्रा डायस्पोरा लिटरेचर अवार्ड कृष्ण बजगाईं, किताब जात्रा डायस्पोरा जर्नालिज्म अवार्ड अनलाइन खबरका बेलायत संवाददाता नवीन पोखरेल, किताब जात्रा डायस्पोरा मिडिया अवार्ड कुशल श्रेष्ठ, किताब जात्रा डायस्पोरा अन्टरप्रिनरसीप अवार्ड (फिमेल) डा. रक्षा थापा, अन्टरप्रिनरसीप अवार्ड (मेल) छोङ् शेर्पा, र युथ आइकन व्यवसायी विकास नेपाललाई प्रदान गरिएको छ । राजदूत घिमिरे र सञ्चारकर्मी टिकाराम यात्रीले अवार्ड प्रदान गरेका छन् ।
दोस्रो छलफलमा माइकल हट, संगीता स्वेच्छा, गोपी सापकोटा र कृष्ण बजगाईं प्रमुख वक्ता थिए । उनीहरुले ‘नेपाली कला, संस्कृति र साहित्यको विश्वव्यापीकरण’ विषयमा वहस गरे । सञ्चारकर्मी यात्रीले मोडरेट गरेको उक्त छलफलमा अन्तराष्ट्रिय जगतमा नेपाली साहित्यको अवस्था, डायस्पोरा साहित्यको गुणस्तर, चुनौति आदि विषयमा वक्ताहरुले आआफ्ना धारणा राखेका छन् ।
आयोजक किताब यात्रा फाउन्डेशनका निर्देशक ऋषिराम अधिकारीले सबैको साथ सहयोगप्रति आभार व्यक्त गर्दै पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउनु, किताब प्रदर्शनी, उद्यमशीलता प्रवद्र्धन एवं श्रष्टा सम्मान कार्यक्रमको उद्देश्य रहेको प्रष्ट्याए । अधिकारीले फाउण्डेसनले साहित्यिक महोत्सवबाहेक नेपालका विभिन्न २० ठाउँमा पुस्तकालय निर्माण, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान समेत गरेको बताएका छन् ।
सिभिरा लामा रुइतले सञ्चालन गरेको कार्यक्रममा कविता वाचन समेत भएको थियो । साहित्यकारहरु जगत नवोदित, निर्भिकजंग रायमाझी, गजलकार नृपेश उप्रेती, भारतीय कवि शाहज खानले आआफ्ना रचना सुनाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्