काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आईपीओ खुला भएको छ । लघुवित्तले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँडपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।
लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ९५ लाख १९ हजार ५ सय रुपैयाँ बराबरको १ लाख ९५ हजार १ सय ९५ कित्ता सेयर निष्कासन गर्न लागेको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओमा छिटोमा भदौ तीन गते र ढिलोमा भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदन धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणाली वा मेरो सेयरबाट पनि दिन सकिनेछ ।
लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आईपीओ निष्कासनका लागि लघुवित्तलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट’ प्रदान गरेको छ । यसले लघुवित्तको समयमा वित्तीय दायित्व पूर्ण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
लघुवित्तलाई बोर्डले जारी पूँजीको ४० प्रतिशत अर्थात २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो । त्यसमध्ये लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।