काठमाडौँ । महालक्ष्मी विकास बैंकको रकम हिनामिना प्रकरणमा पक्राउ परेका बैंकका चार जना कर्मचारीविरुद्ध फेरि ७ दिनको म्याद थप भएको छ । उच्च अदालत महेन्द्रनगर इजलासले बैंकिङ कसुर मुद्दामा पक्राउ परेका बैंकका चार जना कर्मचारीलाई थप ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखाका शाखा प्रबन्धकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुविरुद्ध यसअघि ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान गरेको थियो । तर, अनुसन्धान नसकिएपछि म्याद थपका लागि उनीहरुलाई महेन्द्रनगर लगिएको थियो । उच्च अदालत महेन्द्रनगर इजलासले बैंकका शाखा प्रबन्धक सागर शाही, नगद विभागकी कर्मचारी निर्मला साउँद, ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागका कर्मचारी धनन्जय पन्तलाई ७ दिनको म्याद गरेको हो ।
अदालतले ७ दिनको म्याद थप गरेपछि उनीहरुलाई महेन्द्रनगरबाट दार्चुला लगिँदैछ । उनीहरुमाथि अब बैंकिङ कसुरमा थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतले बताएका छन् ।
उनीहरुमाथि बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । त्यसमध्ये अधिकांश रकम उनीहरुले नेपालमा प्रतिबन्धित वान एक्स बेटमा लगाएर हारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।