काठमाडौँ । सेयर बजारमा कमाउने लोभ देखाएर ह्याकरले बैंक खाताबाटै कराडौँ रुपैयाँ चोरी गरेको तथ्य बाहिरिएको छ । नेप्से एआई नामक एप्लिकेसन डाउनलोड गर्न लगाएर नेपालमा ह्याकरले हालसम्म विभिन्न व्यक्तिको खाताबाट ८० करोड रुपैयाँ गायब पारेको पाइएको छ ।
साइबर ब्यूरोका एक अधिकारीले पनि अनुसन्धानबाट नेप्से एआई नाम एप्लिकेसन इन्स्टल गर्न लगाएर मोबाइल ह्याक गरी बैंक खाताबाट पैसा चोरिएको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार यसरी खाताबाट पैसा चोरिएको भन्दै उजुरी दिनेहरुको संख्या पनि बढ्दो छ । जसमध्ये सेयर बजारबाट सजिलै कमाउने लोभ देखाएर नेप्से एआई नामक एप्लिकेसन डाउनलोड गर्न लगाउने र सो एप इन्स्टल गरेपछि ह्याकरले फोन कब्जामा लिएर बैंक खातामा समेत पहूँच पुर्याउने एक प्रहरीले बताएका छन् ।
यसरी सेयर बजारबाट कमाउने लोभ देखाएर हालसम्म ८० करोड बढी रकम खाताबाटै चोरी भइसकेको प्रहरीको भनाई छ । ‘अहिले जताततै माहोल सेयर बजारकै छ । त्यसैमाथि अहिले नयाँ लगानीकर्ता बजारप्रति बढि आकर्षित छन् ।’, एक सेयर विज्ञले भने, ‘त्यही बुझेर ह्याकरले यसरी अपरिचित एप्लिकेसन डाउनलोड गर्न लगाएर खाता ह्याक गर्ने देखिएको छ । यो निकै ठूलो थ्रेट हो ।’
यसरी विभिन्न माध्यमबाट खाताको पैसा चोर्ने ह्याकरको गिरोह सक्रिय रहेको भन्दै प्रहरीले सचेत हुन आग्रह समेत गरेको छ । प्रहरीले शंकास्पद लिंक क्लिक नगर्न, शंकास्पद एप्लिकेसन डाउनलोड वा इन्स्टल नगर्न, आफ्नो ओटिपी वा बैंक खातासँग सम्बन्धित कुनै पनि विवरण अरुलाई नदिन आग्रह गरेको छ ।