काठमाडौँ । दशैँ र तिहारका लागि धमाधम हवाई टिकट बुकिङ भइरहेका छन् । पछि टिकट पाइने/नपाइने टुंगो नभएपछि अहिलेदेखि नै यात्रुहरुले हवाई टिकट बुकिङ गर्न थालेका हुन् ।
यसो त दशैँ आउन अझै डेढ महिना बाँकी छ । तर, अहिलेदेखि नै धमाधम टिकट बुकिङ भइरहेको एयरलाइन्स कम्पनीहरुले पुष्टि गरेका छन् ।
भदौ २० यता दशैँ र तिहारलाई लक्षित गर्दै टिकट बुकिङ भइरहेको एयरलाइन्स कम्पनीहरुले जनाएका छन् । एयरलाइन्स कम्पनीहरुका अनुसार हालसम्म दशैँ र तिहारलाई लक्षित गर्दै ४० प्रतिशत टिकट बुकिङ भइसकेको छ ।
यसै पनि यसवर्ष हालसम्म मनसुन हुनुपर्नेजति सक्रिय भएको छैन । त्यसैले पनि दशैँ र तिहारको समयमा बढी पानी पर्न सक्ने अनुमान गरिएको छ । त्यसैमाथि सडकको यात्रा निकै सास्ती र जोखिमपूर्ण हुने हुँदा पनि यात्रुहरुले अहिलेदेखि नै टिकट बुकिङ गर्न थालेको एयरलाइन्स कम्पनीहरुको दाबी छ ।
अहिले टिकट बुकिङ गर्दा पनि काठमाडौँदेखि देशभरका विभिन्न गन्तव्य मुलुकको भाडादर अन्य समयको तुलनामा महँगो नै छ ।