काठमाडौँ । इन्टरनेट बजारमा मुख्य पाँच कम्पनीहरुको प्रभुत्व देखिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार शीर्ष पाँच कम्पनीहरूले कुल बजारको ७२ प्रतिशत हिस्सा ओगटेका छन् ।
प्राधिकरणको तथ्यांक अनुसार गत असारसम्म हाल देशभर ३२ लाख ४८ हजार ६७४ जना फिक्स ब्रोडब्याण्ड इन्टरनेट ग्राहक रहेकामा सबैभन्दा धेरै ग्राहक संख्या वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडका छन् । १० लाख भन्दा बढी ग्राहक बनाएर अग्रस्थानमा रहेको यो कम्पनीको बजार हिस्सा ३१.१७ प्रतिशत पुगेको छ ।
ग्राहक संख्याको हिसाबले दोस्रो स्थानमा रहेको डिस मिडिया नेटवर्क लिमिटेडले पनि पछिल्लो समय तिव्र रुपमा बजार विस्तार गरेको छ । डिस मिडियाका ३ लाख ६१ हजार ३९४ ग्राहक छन् भने बजार हिस्सा ११.१२ प्रतिशत ओगटेको छ ।
त्यस्तै, तेस्रो स्थानमा सरकारको प्रत्यक्ष लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका ३ लाख ५४ हजार ४३८ ग्राहक रहेका छन् । सरकारी कम्पनीले एनटीसीले १०.९१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
बजार हिस्साको रुपमा चौथो स्थानमा रहेको भायानेट कम्युनिकेसन लिमिटेडका ग्राहक ३ लाख १९ हजार रहेका छन् । भायानेटले नेपाली इन्टरनेटको दुनियाँमा ९.८२ प्रतिशत बजार हिस्सा ओगटेको छ । अर्को कम्पनी सुबिसु केबलनेट लिमिटेडका ग्राहक २ लाख ९९ हजार रहेका छन् । यो कम्पनीले ९.२१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको संख्या बढाउन चर्को प्रतिष्पर्धा चल्ने गरेको छ । क्लासिक टेकका ग्राहक संख्या हेर्ने हो भने १ लाख ८७ हजार १३७ रहेका छन् । यो कम्पनीको बजार हिस्सा ५.७६ प्रतिशत रहेको छ । त्यस्तै, वेबसर्फर नेपालका १ लाख ७५ हजार ६५९ ग्राहकहरु रहेका छन् । यसले ५.४१ प्रतिशत बजार हिस्सा ओगटेको छ ।
त्यस्तै, टेकमाइन्ड्स नेटवर्क इन्टरनेट प्रयोगकर्ता १ लाख १ हजार ५८० रहेका छन् । यो कम्पनीको बजार हिस्सा ३.१३ प्रतिशत रहेको छ । चौधरी ग्रुपको लगानी रहेको सिजी कम्युनिकेसनका ग्राहक ८२ हजार ८६० रहेका छन् । यसले २.५५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने पछिल्लो समय सस्तोमा इन्टरनेट दिएको दावी गर्ने वाइफाइ नेपालका ग्राहक ८० हजार ३७१ रहेका छन् ।
यो कम्पनीले २.४७ प्रतिशत बजार हिस्सा ओगटेको छ । त्यस्तै ब्रोडलिंक नेटवर्कले १.६४, फाइबरवल्र्ड कम्युनिकेसनले १.३१, सजिलो नेटले १.६ प्रतिशत बजार हिस्सा ओगटेका छन् । एक प्रतिशत भन्दा कम बजार हिस्सा ओगट्नेमा फर्स्टलिंक कम्युनिकेसन, कनेक्ट नेपाल नेटवर्क, एरोनेट, चित्रवन युनिक नेट, पोखरा इन्टरनेट, एभरेष्ट वायरलेस नेटवर्क, आइ.जोनलगायतका कम्पनीहरु रहेका छन् ।