काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सरकारले मुलुकलाई ग्रे-लिस्टबाट बाहिर निस्कन सङ्गठित रुपमै सघन प्रयास गरिरहेको बताएका छन् । सांसदहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा उनले ग्रे-लिस्टबाट बाहिरिन विद्यमान दर्जनौँ कानूनलाई सुधार्नेदेखि अन्तराष्ट्रिय संस्थाहरुले दिएका सुझावलाई कार्यान्वयनमा लगिएको बताएका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार सम्पत्ति शुद्धिकरण तथा व्यवसायी वातावरण प्रवर्द्धनसँग सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको कानूनले विभिन्न १९ ओटा विद्यमान ऐनहरुलाई संशोधन गरेको छ ।
ग्रे-लिस्टबाट बाहिर मुलुकलाई छिटो ल्याउनकै लागि सम्पत्ति शुद्धिकरणसम्बन्धी नियमावली जारी गरि कार्यान्वयनमा आएको पौडेलको भनाई छ । सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी वित्तीय रणनीति तथा कार्ययोजना २०८१/८२ देखि २०८५/८६ सम्म कार्यान्वयनमा रहेको छ ।
त्यस्तै, अर्थमन्त्री पौडेलले मुलुकलाई ग्रे-लिस्टबाट बाहिर ल्याउनकै लागि सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बधमा घरजग्गा सूचक संस्थालाई जारी गरिएको निर्देशन कार्यान्वयनमा ल्याइएको बताएका छन् ।
उनले सम्पत्ति शुद्धिकरण निवारण कानूनले गठन गरेको गठन समिति र त्यसका अतिरिक्त रणनीति तथा कार्ययोजना अवधिभरका लागि चारओटा कार्यान्वयन संयन्त्र गठन गरि समन्वयदेखि अनुगमनका कार्य भइरहेको जनाएका छन् । साथै नेपाल संगठित र सघन प्रयासले निर्धारित समयअघावै ग्रलिस्टबाट बाहिर निस्कने विश्वास अर्थमन्त्रीले गराएका छन् ।