काठमाडौँ । सरकारले नागढुंगा सुरुङमार्ग प्रयोग गर्न लाग्ने शुल्क तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सुरुङमार्ग प्रयोग गर्न तिर्नुपर्ने शुल्क तोकेको हो ।
सरकारले तोकेको शुल्क अनुसार सवारी सधान अनुसार सुरुङमार्ग प्रयोग गर्न ६० देखि ६ सय रुपैयाँसम्म तिर्नुपर्ने भएको छ । सरकारले तोकेको मूल्य अनुसार कार/भ्यानले काठमाडौँ आउँदा ६५ रुपैयाँ र बाहिर जाँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
मिनी बस/ट्रक काठमाडौँ आउँदा ११५ रुपैयाँ र बाहिर जाँदा ८० रुपैयाँ तिर्नुपर्छ । बस/ट्रकले काठमाडौँ आउँदा २६० र बाहिर जाँदा २०० रुपैयाँ तिर्नुपर्नेछ भने भारी उपकरणले काठमाडौँ आउँदा ६०० रुपैयाँ र बाहिर जाँदा २५० रुपैयाँ तिर्नुपर्नेछ ।
सुरुङमार्गमा मोटरसाइकललाई भने प्रवेश निषेध गरिएको छ । सरकारले अबको केही महिनामै सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।