काठमाडौँ । आज अगष्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस । नेपालमा ‘दिगो विकास र सुनौलो भविष्यको सारः स्थानीय युवाको सहभागीता समृद्धिको आधार’ भन्ने मूल नाराका साथ देशव्यापी रुपमा यो दिवस मनाउँदै गर्दा देशको राजनीतिक अवस्थाले गर्दा युवाहरु विदेशिन बाध्य भएका छन् ।
गलामा नेपालको राष्ट्रिय झण्डा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जान आएकाहरुले देशमा राम्रो भएको भए विदेशिन नपर्ने बताउँछन् । घर, परिवार साथीभाइ छोडेर विदेशिनुको बाध्यता सरकारले नबुझेको उनीहरुको गुनासो छ ।
वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढिरहँदा नेपाल बूढाबूढीको देश हुने चिन्ता बढेको छ । स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक करिब दुई हजार युवा रोजगारीका लागि विदेश गइरहेका छन् ।
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जान ८ लाख ३९ हजार २६६ युवाले श्रमस्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । प्रतिमहिना औसतमा ६९ हजार ९३९ र प्रतिदिन दुई हजार तीन सय जनाले स्वीकृति लिएको देखिएको छ ।
वैदेशिक रोजगारीमा जाने यो संख्या हालसम्मकै उच्च हो । गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये नयाँ श्रम स्वीकृति लिने ६० प्रतिशत र पुनः श्रम स्वीकृति लिने ४० प्रतिशत छन् ।
नेपाली श्रमिकका १० प्रमुख श्रम गन्तव्य देशमा क्रमशः संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया, क्रोएसिया, बहराइन रहेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: