काठमाडौँ । बीमाको रकम हत्याउन नक्कली दुर्घटना देखाएको आरोपमा ६ पक्राउ परेका छन् ।
प्रहरीले ललितपुरको गोदावरी नगरपालिका-१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगरपालिका-१२ का ५१ वर्षीय विनोद डंगोल, सर्लाहीको ईश्वरपुर नगरपालिका-३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेको पाँचखाल नगरपालिका-२ का ४८ वर्षीय हरिप्रसाद गौतम र बाराको निजगढ नगरपालिका-६ का ४५ वर्षीय मनोजकुमार आचार्यलाई पक्राउ गरेको हो ।
उनीहरुले बीमाको रकम हत्याउन सरकारी कार्यालयको नक्कली कागज र छाप बनाएर दुरुपयोग गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले नक्कली घाइतेसमेत खडा गरेका थिए ।
यतिसम्म कि बी एण्ड बी अस्पतालमा उपचार गराएको भन्दै उनीहरुले अस्पतालको समेत नक्कली कागज बनाएका थिए । सो कागजातहरु नेपाल माइक्रो इन्स्योरेन्समा पेश गरिएको थियो । तर, दाबीमा शंका लागेपछि कम्पनीले प्रहरी गुहारेको थियो । अनुसन्धान गर्दै जाँदा उनीहरुले बीमाको रकम हात पार्न सो नाटक गरेको खुलेको छ । पक्राउ परेका ६ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।