काठमाडौँ । फूलपातीदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘बलिदान’ फिल्मप्रतिको क्रेज ह्वात्तै बढेको छ । फिल्म निर्माणताकादेखि नै नेपाली फिल्म इन्डष्ट्रिमा व्यापक चर्चा कमाएको बलिदानको क्रेज रिलिज हुने दिन नजिकिँदै गर्दा झनै बढेको हो ।
फिल्म फूलपातीको दिन रिलिज हुनेछ । अर्थात, अब फिल्म रिलिज हुन ५ दिन मात्र बाँकी छ ।
यसो त बलिदान फिल्मकै लागि एक हप्ता अघिदेखि नै हलहरुले अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, अधिकांश हलहरुमा सबै टिकट ‘शोल्ड आउट’ भइसकेका छन् । धनगढीको एसटिएस सिनेमा हलमा एक हप्ताअघि नै पहिलो दिनको सबै टिकट बिक्री भइसकेको बलिदान फिल्मका प्रोडक्सन मेनेजर हरि तिवारीले जानकारी दिएका छन् ।
‘टिकट सबै बिक्री भइसकेको छ । टिकटका लागि आउनेहरु बढिरहेका छन् । पहिलो दिनको टिकट नपाएपछि अरु दिनको लागि टिकट बुक भइरहेको छ ।’, उनले भने, ‘हामीले सबैलाई फिल्म हेर्ने वातावरण मिलाउँदै छौँ ।’
उनले धनगढीमा बलिदान फिल्म रिलिजको पहिलो दिन मात्र नभएर त्यसपछिका दिनका लागि समेत टिकट बिक्री भइसकेका छन् ।
यता बलिदान फिल्मका निर्देशक सन्तोष सेनले हाल देशभर बलिदान फिल्मको क्रेज बढिरहेको र हलहरुमा टिकटका लागि पुग्नेहरुको संख्या अत्याधिक भएकाले संयमित अपनाउन आग्रह गरेका छन् । उनले हलहरुलाई पनि शान्त वातावरणमा फिल्म हेर्ने वातावरण मिलाउन आग्रह गरेका छन् ।