काठमाडौँ । बुङ्गल हाइड्रो लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्काशन खुला गरेको छ । कम्पनीले आयोजनाबाट प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरिएको आईपीओ बाँडफाँटपछि अब सर्वसाधारण लगानीकर्ताका लागि शेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले कुल ८३ करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो । यसमध्ये आयोजनाबाट प्रभावित स्थानीयबासीका लागि ८ लाख ३० हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर पहिल्यै निष्काशन गरी बाँडफाँट भइसकेको छ ।
साथै, सामूहिक लगानी कोषका लागि १ लाख ३ हजार ७५० कित्ता र कम्पनीका कर्मचारीका लागि ६२ हजार २५० कित्ता शेयर छुट्याइएको छ । बाँकी रहेको १७ लाख १ हजार ५०० कित्ता शेयर भने अहिले सर्वसाधारणका लागि निष्काशन गरिएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि छिटोमा भदौ १९ गते र ढिलोमा भदौ ३० गते सम्म खुला रहनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिन चाहने लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमोदित सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । आइपिओ रेटिङका आधारमा, केयर रेटिङ नेपालले बुङ्गल हाइड्रोलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले औसत जोखिम रहेको संकेत गर्दछ ।