काठमाडौँ । इन्डोनेसियामा आर्थिक कठिनाइको विरोधमा भएको प्रदर्शनमा कम्तीमा पाँच जनाको मृत्यु भएपछि सरकारले सांसदहरूको आर्थिक सुविधा कटौती गरेको छ । राष्ट्रपति प्रबोवो सुबियान्तोले विरोध प्रदर्शन निस्तेज पार्ने प्रयासमा सांसदहरूको आर्थिक सुविधा कटौतीको घोषणा गरेका हुन् ।
दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डिोनेसियालाई हालैका दिनहरूमा प्रमुख शहरहरूमा भएका विरोध प्रदर्शनहरूले अस्थीर बनाएको छ ।
देशले आर्थिक समस्याको सामना गरिरहेका समय सांसदहरूको लागि आकर्षक सुविधाहरू दिइएको भन्दै सडकमा आवाज बुलन्द बनेपछि सरकारले सांसद्हरूको सुविधा कटौती गरेको हो ।
एक भाडाको मोटरसाइकल चालकलाई जानाजानी प्रहरीको गाडीले ठक्कर दिएको श्रव्यदृश्य विरोधमा प्रदर्शनका क्रममा प्रचारमा आएपछि आन्दोलन थप आक्रामक बनेको बताइएको छ । राष्ट्रपति प्रबोवो सुबियान्तोले सांसद सुविधाबापत दिइएको रकम कटौतीको घोषणा गर्दै भने, ‘संसदको नेतृत्वले सांसदहरूको भत्ताको रकम र विदेश भ्रमणहरूमा रोकसहित धेरै नीतिहरू रद्द गर्ने जानकारी दिएको छ ।’
सेनाको पूर्व जर्नेलसमेत रहेका राष्ट्रपतिले भने, ‘विरोध प्रदर्शन शान्तिपूर्ण रूपमा हुनुपर्छ र यदि प्रदर्शनकारीले सार्वजनिक सुविधाहरूमा आक्रमण गरे वा निजी घरहरू लुटे भने राज्यले आफ्ना नागरिकहरूको सुरक्षाको लागि कदम चाल्नुपर्छ ।’, उनले भने, ‘शान्तिपूर्ण भेला हुन पाउने अधिकारको सम्मान र संरक्षण गरिनुपर्छ । हामीले प्रदर्शन कानूनभन्दा बाहिर अर्थात् कानूनको विरुद्धमा राजद्रोह र आतङ्कवादतर्फ झुकावको सङकेतहरु देखाएको महशुस गरेका छौँ ।’