काठमाडौँ । महालक्ष्मी विकास बैंकको २ करोड ८५ लाख रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका बैंकका दुई कर्मचारी धरौटीमा छुटेका छन् । उच्च अदालत (महेन्द्रनगर इजलास)ले धरौटीमा छोड्न आदेश दिएकपछि उनीहरु धरौटी बुझाएर रिहा भएका हुन् ।
धरौटीमा छुट्नेमा बैंकको दार्चुलास्थित गोकुलेश्वर शाखामा ग्राहक सहायता कक्षमा कार्यरत अम्बादत्त पन्त र कर्जा विभागका कर्मचारी धनन्जय पन्त रहेका छन् ।
बैतडीको पुर्चौडी नगरपालिका–३ का अम्बादत्त पन्तलाई १० लाख धरौटीमा छोड्न आदेश दिइएको थियो भने बैंकको कर्जा विभागमा कार्यरत धनन्जय पन्तलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिइएको थियो ।
अदालतले धरौटीमा छोड्न अनुमति दिएका दुवैजना धरौटीबापतको रकम बुझाएर रिहा भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिक्रम बहादुर शाहीले जानकारी दिएका छन् ।
सोही प्रकरणमा पक्राउ परेका बैंकको गोकुलेश्वर शाखाका तत्कालीन शाखा प्रबन्धक (ब्रान्च मेनेजर) सागर शाही र नगद विभागकी कर्मचारी निर्मला साउँदलाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।