काठमाडौँ । नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले स्रोत नखुलेको नगद र सुनको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर गाउँपालिका-२ बस्ने १८ वर्षीय नरेशकुमार यादव । रहेका छन् ।
काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको बा.प्र ०१-००६ ख ९१७३ नम्बरको विद्युतीय गाडी जाँच गर्दा तीन लाख ५० हजार रुपैयाँ स्रोत नखुलेको नगद र सुन गहना फेला परेको थियो । उक्त नगद र गहनाको स्रोत खुलाउन नसकेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नगद र गहना सेना र प्रहरीसहितको टोलीले बरामद गरेको छ । बरामद गरिएको गहना १२ लाख २६ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ ।
उक्त गहना र नगद जेनजी आन्दोलनका क्रममा लुटिएको आशंका गरिएको छ । हाल प्रहरीले अनुसन्धानलाई त्यसतर्फ केन्द्रित गरेको छ । यद्यपि उक्त गहना र नगद आन्दोलनकै क्रममा लुटिएको यकिन भने भइनसकेको प्रहरीको भनाई छ ।