×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिक्षण पेशा छोडेर तरकारी खेती गर्दै पैतोला, वार्षिक पाँच लाख आम्दानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शिक्षण पेशा छोडेर तरकारी खेती गर्दै पैतोला, वार्षिक पाँच लाख आम्दानी

Artha Sarokar

९ आश्विन २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी विषय पढाउने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन् । शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन् । उनले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । ‘कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले ।’ पैतोलाले भने, ‘सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आए ।’

उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गरेका थिए । पछि उनलाई आफैँले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका हुन् ।

वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन । त्यसका लागि उनले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारी समेत गरेका थिए । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफैँले  केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरेका हुन् । ‘अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो ।’ उनले भने, ‘विदेश जादा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो ।’ उनले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राखेका छन् । उनको जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उनले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गरेका छन् । ‘बिघाहको वार्षिक पचास हजारका दरले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएको छु ।’ उनले भने, ‘सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ ।’ उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए ।

वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उनको भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उनको भनाइ छ । ‘मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ ।’ उनले भने, ‘आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।’

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सद्को समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आएका छन् । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी