काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले बक्यौता उठाउने विषयमा निर्णय गर्न बोर्ड बैठक डाक्ने तयारी गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उर्जामन्त्रीको निर्णय कार्यान्वयनका लागि बैठक डाक्ने तयारी गरिएको बताएका हुन् ।
उर्जामन्त्री कुलमान घिसिङले उर्जामन्त्रीका रुपमा पदभार ग्रहण गर्दै विद्युत बक्यौता उठाउने पहिलो निर्णय गरेका थिए ।
उर्जामन्त्रीको सोही निर्णय कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक डाक्ने तयारी भएको शाक्यले बताएका छन् । शाक्यका अनुसार सोमबार/मंगलबार नै बैठक बसेर विद्युत बक्यौता उठाउन चाल्ने कदमबारे निर्णय लिइनेछ । उनले सरकारको निर्णय मानेर नै बक्यौता उठाउन लाग्ने बताएका छन् ।
‘बक्यौतासम्बन्धी मन्त्रीज्युको जुन निर्णय छ, त्यसलाई हामी कार्यान्वयन गर्छौं । उर्जामन्त्री नै विद्युत प्राधिकरणको अध्यक्ष हुने व्यवस्था छ ।’, शाक्यले भने, ‘बोर्डले निर्णय गर्नासाथ बक्यौता उठाउनतर्फ लाग्छौँ ।’ त्यस्तै, शाक्यले बोर्ड बैठकबाट निर्णय भएपछि बक्यौता उठाउन कुनै पनि समस्या नभएको बताएका छन् ।
कुलनमान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हुँदा पटकपटक विद्युत बक्यौता उठाउन भन्दै बक्यौता तिर्न बाँकी रहेको उद्योगीको लाइन काट्दै आएका थिए । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पछि केपी शर्मा ओलीले बिजुलीको लाइन काट्दा पुनः जोड्न निर्देशन दिँदै आएका थिए । सोहीबीच सरकारले कुलमानलाई प्राधिकरणबाट बर्खास्त गरेको थियो । तर, हाल उनै कुलमान उर्जामन्त्री बनेपछि सरकार विद्युत बक्यौता उठाउनमा लागि परेको छ । प्राधिकरणका अनुसार उद्योग तथा अन्य सार्वजनिक क्षेत्रले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत लिएको बिजुलीको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ तिर्न बाँकी छ ।