काठमाडौँ । यो देशमा नियम पनि के के बन्छन् के के ? हुँदा हुँदा अब त शौचालयमा खोक्न पनि ठूलो स्वरमा नपाइने रे । फोनमा चर्को स्वरमा बोल्न नपाइने त ठिकै होला, तर भान्सामा प्रेसर कुकरको सिठ्ठी बज्दा नागरिकको के दोष ? महँगा राइस कुकर वा अन्य प्रविधि राख्न सक्ने भए प्रेसर कुकरमा भात कसले पकाउँथ्यो होला र ? अब खाना पकाएपछि सिठ्ठी त बजि नै हाल्छ । तर, प्रहरी भन्छ अहँ, प्रेसर कुकरमा सिठ्ठी नबजाऔँ । यति मात्र होइन, ध्वनि प्रदूषण कम गर्न भन्दै प्रहरी ल्याएको बग्रेल्ती नियमहरुको चर्को आलोचना समेत भइरहेको छ ।
हो, हल्ला नगरौँ । साह्रै डिस्टर्ब भयो भन्दै नागरिकले गुनासो गरेपछि प्रहरीले सूचना नै जारी गरेर धेरै हल्ला नगर्न भनेको छ । हल्ला नगर्न मात्र होइन, प्रहरीले त राती शौचालय बस्दा फ्लसको आवाज कम गर्ने उपाय अपनाउन पनि अपिल गरेको छ । खाना बनाउँदा कुकरको सिठ्ठी नलाउनदेखि फोनमा ठूलो स्वरमा कुरा नगर्न, बरु म्यासेजमा कुरा गर्नू भन्दै प्रहरीले सूचना नै जारी गरेको छ । सुन्दा अनौठो लागे पनि यो सत्य हो ।
हो, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले बिहीबार एकाबिहानै एउटा सूचना सार्वजनिक गर्यो । जहाँ ध्वनि प्रदूषण कम गर्न र शान्त अनि सभ्य समाज बनाउन भन्दै विभिन्न कानूनहरु पढाउन खोजिएको छ । प्रहरीले जारी गरेको सूचना अनुसार अबदेखि फोनमा ठूलो स्वरले कुरा गर्न नपाइने भएको छ । काठमाडौँ उपत्यका कार्यालय रानीपोखरीले सूचना नै जारी गरेर फोनमा ठूलो स्वरले कुरा नगर्न, हेडफोन प्रयोग गर्न र सकेसम्म म्यासेजमा कुरा गर्न निर्देशन दिएको छ । यदि राती फोनमा ठूलो स्वरले कुरा गरेर अरुलाई डिस्टर्ब भए ३ लाख रुपैयाँ जरिवाना तिराइने प्रहरीले जनाएको छ ।
त्यस्तै, सुत्ने बेला टिभी खुल्लै छोडे वा साउन्ड सिस्टम अन राख्नेलाई पनि कारवाही हुने भएको छ । योसँगै अब रातीको समयमा टिभी खुल्लै राखेर सुत्नेलाई प्रहरीले कारवाही गर्नेछ । अझ अचम्मको कुरा अबदेखि भान्सामा खाना पकाउँदा भाँडाकुँडाको ठूलो स्वर आए पनि कारवाही गरिने भएको छ । समाज शान्त राख्न भन्दै प्रहरीले भान्सामा भाँडाकुँडाको ठूलो स्वर आए ३ लाख जरिवाना तिराउने जनाएको हो । प्रहरीले सार्वजनिक गरेको यस्तो नियमले खाना पकाउँदा कुकरको सिठ्ठी लगाउन वा भान्सामा भाँडाको ठूलो आवाज निकाल्न पनि नपाइने भएको छ ।
अनि अब बिहानको समयमा खोक्ने खकार्ने काम पनि गर्न नपाइने भएको छ । प्रहरीका अनुसार यसरी बिहानको नित्यकर्म गर्दा खोक्दा वा खकार्दा छिमेकीलाई डिस्टर्ब हुन्छ । अरुलाई डिस्टर्ब नगर्न र जोडले खोक्दा वा खकार्दा ध्वनि प्रदूषण हुने भन्दै प्रहरीले यस्तो नगर्न भनेको छ । यदि यसरी जोडजोडले खोक्ने र खकार्ने काम गरे ३ लाखसम्म जरिवाना हुने भएको छ । अर्कोतर्फ प्रहरीले मोटरसाइकल वा अन्य सवारी साधन छिमेक भन्दा टाढा लगेर स्टार्ट गर्न पनि निर्देशन दिएको छ । बिहान बिहान मोटरसाइकल वा अन्य सवारी साधन स्टार्ट गर्दा अरुलाई डिस्टर्ब हुने भन्दै प्रहरीले सवारी साधन स्टार्ट गरेर आवाज ननिकाल्न निर्देशन दिएको हो । ठूलो आवाज आएमा छिमेक भन्दा टाढा लगेर स्टार्ट गर्न प्रहरीले निर्देशन दिएको छ ।
अझ प्रहरीको सूचनामा बिजोग रमाइलो त दोस्रो बुँदामा छ । जस अनुसार अबदेखि राती शौचालयमा फ्लस गर्दा ठूलो आवाज निस्किए पनि कारवाही गरिने भएको छ । योसँगै अब राती शौचालयमा फ्लस गर्दा ठूलो स्वर आएर अरुलाई डिस्टर्ब भए ३ लाख जरिवाना तिराइने भएको छ ।
नेताले गाडी चढ्दा बज्ने साइरनले ध्वनि प्रदूषण नहुने रे ! नेताहरुले चर्काचर्का भाषण गर्दा ध्वनि प्रदूषण नहुने रे ! नेताले भोट माग्ने क्रममा माइकिङ गर्दा ध्वनि प्रदूषण नहुने रे ! अनि एउटा गरिब नागरिकको घरमा पाक्ने एक छाक भात पकाउँदा प्रेसर कुकरमा लाग्ने सिठ्ठीले कस–कसको टाउको दुखेको हो ? उनीहरु नै जानून् । तर सुरक्षाका नाममा वा ध्वनि प्रदूषण कम गर्ने नाममा प्रहरीले जे सूचना जारी गरेको छ, विधिको शासनमा त्यो एउटा भद्दा मजाक सिवाय केही हुनै सक्दैन ।