काठमाडौँ । सरकारले सामाजिक सञ्जाललाई दर्ता हुन दिएको सात दिनको म्याद सकिएको छ । बुधबार मध्यरातिदेखि सरकारले दिएको सात दिनको म्याद सकिएको हो ।
दर्ता हुन आउन भन्दै सरकारले दिएको म्याद सकिँदा पनि चर्चित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, युट्युब र ट्विटर लगायतका सामाजिक सञ्जाल दर्ता हुन आएका छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका एक अधिकारीका अनुसार हालसम्म दर्ता हुनेबारे यी सामाजिक सञ्जालबाट कुनै पनि आधिकारिक जानकारी वा पत्र आएको छैन ।
ती अधिकारीका अनुसार हालसम्म टेलिग्राम र ग्लोबल लिंक दर्ता हुन आएका छन् । यी सामाजिक सञ्जाल प्लेटफर्मको दर्ता प्रक्रिया सुरु भएको मन्त्रालयका ती अधिकारीले जनाएका छन् ।
तर, सरकारको आग्रह अटेर गर्दै दर्ता हुन नआउने सामाजिक सञ्जाललाई क्रमशः प्रतिबन्ध लगाउने तयारी सरकारको रहेको पनि ती अधिकारीले बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै ती अधिकारीले कुन कुन सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाउनेबारे मन्त्रीस्तरीय निर्णय हुने बताएका छन् ।
हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट दर्ता भइसकेका छन् ।