काठमाडौँ । सरकारले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा कुलमान घिसिङ नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आइतबार साँझ घिसिङलाई उर्जामन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएसँगै बिजुलीको बिल नतिर्ने, तिर्न नमान्ने र तिर्न पर्दैन भन्नेहरु तनावमा परेका छन् ।
यसो त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा कुलमान घिसिङले डेडिकेटेड तथा टंक लाइनको महसुल उठाउन उद्योगीहरुलाई निकै दबाब दिएका थिए । यतिसम्म कि घिसिङले कुनै पनि हालतमा उद्योगीले बिजुली प्रयोग गरेबापतको महसुल तिर्नुपर्ने र नतिरी नहुने अडान लिएका थिए ।
सोहीबीच उद्योगी र घिसिङबीच टसल सिर्जना भएको थियो । त्यहीबेला सरकारले घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । घिसिङको बर्खास्तीपछि बिजुलीको बिल नतिर्नेहरुलाई हाईसन्चो भएको थियो । तर, हाल उनै कुलमान उर्जामन्त्रीमा नियुक्त भएपछि बिजुलीको बिल नतिर्नेहरु तनावमा परेका छन् । यता कुलमान पनि उठाउनुपर्ने बिजुलीको बिल कुनै हालतमा उठाउने मुडमा छन् ।