काठमाडौँ । बाढी-पहिरोले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले इलाममा मात्रै १६ वटा जलविद्युत आयोजनामा क्षति भएर उत्पादन बन्द भएको जानकारी दिएका हुन् ।
मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा उनले यसपटक सबैभन्दा बढी पानी इलाममा परेको बताए । उनका अनुसार रामेछाप र पाँचथरमा एक-एक वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
भट्टले केही निमार्णाधिन विद्युत आयोजनामा पनि क्षति पुगेको बताएका छन् । उनका अनुसार केही तटबन्ध, सिँचाइका आयोजना, मेची राजमार्गका पुलहरुमा पनि क्षति पुगेको छ । क्षतिग्रस्त विपी हाइवे एक हप्ताभित्र सञ्चालनमा ल्याउनेगरी काम गरिरहेको पनि उनले जानकारी दिएका छन् ।
बाढी पहिरोका कारण भएको क्षतिको विस्तृत विवरण आउन केही समय लाग्ने पनि भट्टले बताएका छन् ।